बुटवल, १० चैत । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले दोस्रो मिडिया कप तथा कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघको ७१औँ स्थापना दिवसको अवसर पारेर यही चैत १६ र १७ गते प्रतियोगिता सञ्चालन गर्न लागिएको मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
बुटवल–८ सुख्खानगर, नमूनापथस्थित एडरिक फुटसल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न सञ्चारमाध्यम तथा कर्पोरेट क्षेत्रका टोलीहरूको सहभागिता रहनेछ ।
मिडिया कप फुटसलतर्फ प्रथम हुने टोलीले २० हजार रुपैयाँ तथा द्वितीय हुने टोलीले १५ हजार रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट कप फुटसलतर्फ विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित मेडल, कप र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा कर्पोरेट कपतर्फ अनुशासित टिमलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल सञ्चालन तथा सहजीकरणका लागि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, यमलाल भुसाल र स्वस्तिक श्रेष्ठ सम्मिलित कार्यदल गठन गरिएको महासंघका सचिव सीपी खनालले जानकारी दिए ।
फुटसल प्रतियोगिता आयोजना गर्नका लागि महासंघले सहसचिव सुमनरश्मि श्रेष्ठको संयोजकत्वमा सदस्य दिनेश श्रेष्ठ र अनिता चौधरी सदस्य रहेको समिति पनि गठन गरेको छ ।





















