काठमाडौँ ।
दक्षिण अफ्रिकाका पूर्व ओपनर ग्यारी कस्र्टनलाई श्रीलंका क्रिकेट बोर्डले राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकमा रुपमा भित्राउने भएको छ । बोर्डको निर्णयअनुसार कस्र्टनले सन् २०२६ अप्रिल १५ देखि टोलीको जिम्मेवारी सम्हाल्नेछन् । उनी दुई वर्षको सम्झौतामा नियुक्त भएका हुन् ।
हालै सम्पन्न टी–२० विश्वकप २०२६ मा श्रीलंका सुपर ८ चरणबाट बाहिरिएसंगै मुख्य प्रशिक्षक सनथ जयसूर्याले पदबाट राजीनामा दिएका थिए । अब कस्र्टनले उनको स्थान लिनेछन् । कस्र्टनको कार्यकालमा श्रीलंकाका लागि सबैभन्दा ठूलो प्रतियोगिता सन् २०२७ को एकदिवसीय विश्वकप हुनेछ, जुन दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुँदैछ । श्रीलंका त्यस प्रतियोगितामा सिधै छनोट हुने लक्ष्यका साथ तयारी गर्ने बताइएको छ ।
यसअघि टी–२० विश्वकपका क्रममा कस्र्टन नामिबिया टोलीका परामर्श प्रशिक्षकका रूपमा पनि आबद्ध थिए । खेलाडीका रूपमा उनले दक्षिण अफ्रिकाका लागि १०१ टेस्ट र १८५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । प्रशिक्षकका रूपमा पनि उनको उपलब्धि उल्लेखनीय छ ।
उनको प्रशिक्षणमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो । त्यसपछि भारतीय टोली टेस्ट क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै विश्व वरीयतामा नम्बर एक स्थानमा पुगेको थियो ।
उनले केही समय दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका थिए । कस्र्टन सन् २०२४ अप्रिलमा पाकिस्तान टोलीका सीमित ओभरका प्रशिक्षक पनि बनेका थिए । तर बोर्ड र खेलाडीहरूसँग मतभेद भएपछि उनले बीचमै पद छाडेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट बाहेक उनको अनुभव भारतीय प्रिमियर लिगमा पनि रहेको छ ।
उनले रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्ससँग काम गरेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो सिजनमै उपाधि जित्दा कस्र्टन टोलीका ब्याटिङ प्रशिक्षक थिए ।






















