बुटवल, १० फागुन ।
नीजि क्षेत्रका उद्योगी ब्यवसायीहरुको हकहितमा अग्रसर बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आफनो ७३ औं स्थापना दिवस आईतबार मनाउदै छ । यस क्षेत्रको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासमा लगानीसहितको योगदान गर्दै आएको बुटवल उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा औपचारिक कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ सहित नीजि तथा सरकारी सेवाका प्रतिनिधीहरुको सहभागिता रहने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताए । स्थापना दिवसको अवसरमा बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गर्नेछ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’लाई बृद्धि गरिने छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा छात्रबृत्ति अक्षयकोष स्थापना गरिने छ ।
त्यसैगरी संघको औषधि व्यवसायी बस्तुगत समितिको समन्वयमा मानव सेवा आश्रमलाई औषधी प्रदान गरिने छ । संघले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष १ जना पूर्वअध्यक्षलाई सम्मान गर्दै आएको छ ।
उक्त कार्यक्रममा पूर्वअध्यक्षहरुको तर्फबाट निर्मलप्रसाद लाकौललाई सम्मान गर्न लागिएको हो । लाकौल २०६१ देखि २०६३ सम्म संघको अध्यक्ष पदमा रहेर योगदान दिएका थिए । पूर्वअध्यक्ष लाकौलले संघको श्रीबृद्धि तथा यस क्षेत्रको औद्योगिक, व्यवसायिक सहित आर्थिक तथा सामाजिक विकासमा पु¥याएको योगदानको उच्च मुल्यांकन सहित सम्मान गर्न लागिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए ।
बिसं २०१० साल फागुन १० गते स्थापना भएको संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।





















