मच्छिन्द्रलाई पहिलो पटक झापा गोल्डकपको उपाधि
Spread the love

बिर्तामोड, ४ फागुन ।
मछिन्द्र फुटबल क्लबले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ । सोमबार भएको फाईनल खेलमा एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि चुमेको हो ।

अधिकांश झापाकै खेलाडीहरु सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो । उपाधिसंगै मछिन्द्रले १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । खेलको प्लेयर अफ द म्याच विजेता मछिन्द्रका प्रदिप बुढाथोकी घोषित हुदै नगद २५ हजार रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एकथान मोटरसाइकल पाए । उत्कृष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मछिन्द्रकै प्रवेश कटवाल, मछिन्द्रका जोनाथन जोरिल्ला सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए । यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य नरोत्तम गौतमलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

खेलको ३१ औँ मिनेटमा मछिन्द्रले अग्रता बनायो । मछिन्द्रका स्ट्राइकर प्रदिप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरे । विपक्षी पोष्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोल भयो । एपिएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मछिन्द्रले अर्काे गोल पहिलो हाफको ४५ औँ मिनेटमा लगायो । देवेन्द्र तामाङको लामो प्रहारलाई मछिन्द्रका फ्रयाङक अनोहले गोल गर्न सफल भए । खेलको ८३ औँ मिनेटमा मछिन्द्रले अर्काे गोल थप्यो । मछिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भए । पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपिएफले दोस्रो हाफमा मछिन्द्रमाथि दबाब दिएको थियो ।

खेलको ८२ औँ मिनेटमा एपिएफले गोल फर्कायो । विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपिएफका दिपेश धिमालले सुन्दर गोल गरे । खेलको ७६ औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित भयो । डिफेण्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एपिएफले खेलमा दबाबको सामना गरेको थियो । प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एकथान स्कुटर पाइन् ।

प्रतियोगितामा नेपालका तीन विभागीय क्लबसहित मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन नेपाल पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजकको टिम झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको आरटिसी भुटान र मलेसियाको एन पेनाङ एफसीले प्रतिस्प्रर्धा गरेका थिए ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले पुरस्कार वितरण गरे ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्