बुटवल, ४ फाल्गुन ।
तेह्रौंं संस्करणको ‘दीप गायन तारा’ को उपाधि न्यू होराईजनका साकार शाहीले चुमेका छन । प्रारम्भिक चरणबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उनि दीप गायन तारा बन्न सफल भएका हुन् । उपाधिसँगै उनले नगद ५० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गीतसङ्गीतमा रुचि भएको प्रतिभाको खोजी गर्ने उद्देश्यले दीप बोर्डिङ हाई स्कुलले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा कान्ति माविका जेशन बराल द्वितीय र त्रिभुवन युनाइटेड एकेडेमीकी प्रज्ञा न्यौपाने तृतीय भइन् । यस्तै प्रतियोगितामा आवासीय महाविद्यालयका रिवाज सारु मगर र सिद्धार्थ मेमोरियल एकेडेमीकी मिलिसा परियारले सान्त्वना स्थान हासिल गरे । प्रतियागितामा क्रमश द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने दुई जनाले पाँच–पाँच हजार नगदका साथ कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।
प्रतियोगिताको छनोट चरणमा फागुन १ गते रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने ४५ जना प्रतियोगीहरूले ट्रयाकमा गीत प्रस्तुत गरेका थिए । उक्त प्रतिस्पर्धाबाट १७ जना प्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए । प्रतियोगिताको फाइनल चरणमा प्रतियोगीले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटनसत्रमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दीप गायन तारा जिल्लाकै नमुना कार्यक्रम रहेको बताइन् । बुटवललाई शिक्षाको हब बनाउन उपमहानगरपालिकाले करोडौ लगानी गरेको बताउँदै उपप्रमुख अर्यालले यो अभियानमा साथ दिन सबैलाई आग्रह गरीन् । गुणस्तरीय शिक्षासँगसँगै विद्यालयमा विद्यार्थीहरुको सर्वपक्षीय विकास हुनुपर्ने बताईन ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले दीप गायन तारामार्फत हरेक वर्ष उत्कृष्ट कलाकारहरु उत्पादन गर्न सफल भएको बताए । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भइसकेको उनको भनाइ छ ।
कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले शैक्षिक गुणस्तरसँगै विद्यार्थीको समग्र विकासमा विद्यालय केन्द्रित रहेको बताए ।
कार्यक्रममा बुटवल–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाई, तारा दल गण बुटवल रामनगरका गणपती कल्याण पाण्डे, विद्यालयका उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, विद्यालयका शैक्षिक संयोजक सन्दीप पट्टेलले गुणस्तरीय शिक्षासंगै प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा स्कुलबाट महत्वपूर्ण कार्य गर्दै आएको बताए ।
प्रतियोगितामा वरिष्ठ सङ्गीतकार नारायणबहादुर थापा, सङ्गीत प्रशिक्षक नरहरि प्रेमी र वरिष्ठ सङ्गीतकार मनोज खड्का निर्णायकको भूमिकामा रहेका थिए । यसअघि क्रमश अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी, रिदिमा सिंजाली र विशेष भुर्तेल दीप गायन तारा बनिसकेका छन् । वि.सं २०३७ सालमा स्थापना भएको दीप बोर्डिङले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित मंगलबार ४५ औँ वार्षिकोत्सव मनाउँदै छ । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् ।






















