बुटवल, २ फागुन ।
सधै कक्षाकोठामा किताब र कापीसँग समय बिताउने बुटवल–११ नहरपुरका विद्यार्थीहरु शुक्रबार बिहानै सडकमा भेटिए । एकाएक हातमा पन्जा लगाएर झाडु लिएर बाटोमा निस्केपछि स्थानीय धेरै आश्चर्यमा परे । यो समूहमा विद्यार्थीहरुसंगै थिए विद्यालयका प्राचार्य, व्यवस्थापन समितिका अध्यक्षसहितका पदाधिकारी, शिक्षक, जनप्रतिनिधि र केही अभिभावक । बजार क्षेत्रमा बढ्दै गएको फोहोर उठाउन स्थानीयलाई अग्रसर बनाउन र विद्यार्थीलाई सरसफाईमा सहभागिता गराउन विद्यालयमा अध्यापनरत प्राचार्यसहित सबैले फोहोर संकलन थालेका थिए ।
सधै कक्षाकोठाका भेटिने शिक्षकविद्यार्थीहरुले एकाएक आफ्नो घरपसलअघिको बाटोमा सरसफाईमा निस्केपछि स्थानीयहरु आश्चर्यमा परेका थिए । शुक्रबार बिहान नहरपुरमा पढ्ने विद्यार्थीहरु आफ्ना शिक्षकहरु र जनप्रतिनिधिसँग बिहानभर सरसफाईमा जुटेका हुन् । विद्यार्थीहरु विद्यालयको ड्रेसमा सरसफाईमा सहभागी भएपछि स्थानीय पनि सरसफाईमा जुटेका थिए ।
विद्यालयका शिक्षक आशिष सूर्यवंशीले बुटवल ११ को बुद्धनगरको पुलबाट बुटवल १३ को बेलबास तिनाउ पुलसम्म विद्यार्थी, शिक्षक तथा जनप्रतिनिधि एवम् स्थानीयको सहभागितामा सरसफाई गरिएको बताए । हरेक शुक्रबार विद्यालय परिसरमा गरिने सरसफाई यो पटक सडक क्षेत्रमा गरिएको र यसले आफूहरुलाई थप जिम्मेवार बनाएको उनी बताउछन ।
छात्रा रजनी राना सबै विद्यार्थीलाई सामेल हुने गरी विद्यालय परिवार सामाजिक कार्यमा सहभागी हुँदा खुसी लागेको र यसलाई अब निरन्तरता दिने जरुरी रहेको बताईन । प्राचार्य धनिश्वर गौतमले यस्ता कामबाट विद्यार्थीको अनुशासन र शिक्षक विथार्थीलाई नयाँ संस्कार सिकाएको बताउँदै अब यसलाई साप्ताहिक रुपमा अघि बढाउने जनाए ।
कार्यक्रममा वडाध्यक्ष रामचन्द्र क्षेत्रीले विद्याथीहरुलाई किताबी ज्ञानसंगै ब्यवहारिक शिक्षा आवश्यक हुने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतन थापाले सबै विद्यार्थी शिक्षकहरुको साथमा बाटो सफाईले सबैलाई उत्साह थपेको बताए । बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका अवसरमा बुटवल सफाईको अभियानअन्र्तगत विद्यालयले यसरी अभियान अघि बढाएको हो ।






















