बुटवल, १ फागुन ।
बुटवलका उद्योगी तथा व्यवसायीहरुले नगरको भविष्य, बजार व्यवस्थापन र निजी क्षेत्रको लगानी वातावरणबारे पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णुप्रसाद पौडेल समक्ष चासो तथा सुझाव प्रस्तुत गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा करिब दुई सय उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो । उनीहरुले पुरानो बुटवल बजारलाई पुनः जीवन्त बनाउने, अमरपथ, हाटबजार लाइनलगायतका क्षेत्रलाई व्यवस्थित गर्ने तथा समग्र बजार क्षेत्रको दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गर्न आग्रह गरे ।
व्यवसायीहरुले अन्तर्राष्ट्रिय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन, नेपाल–भारत खुला सीमालाई व्यवस्थित गर्न, बुटवलको पार्किङ समस्या समाधान गर्न तथा कर प्रणालीलाई व्यवस्थित र व्यवसायमैत्री बनाउन आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । निजी क्षेत्रलाई सुरक्षित र विश्वसनीय लगानी वातावरण उपलब्ध गराउन सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै पौडेलले बुटवल र समग्र रुपन्देहीको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । उनले निर्माणाधीन तथा सम्पन्न योजनालाई प्रभावकारी रुपमा सञ्चालन गरी बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे ।
पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि अन्डरग्राउण्डसहितको बहुउद्देश्यीय भवन निर्माण, तिनाउ पुल क्षेत्रमा सिग्नेचर ब्रिज निर्माण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा बुटवल–सैनामैना सीमाना करसाघाट नजिक मुलुककै ठूलो कृषि उपज तथा थोक बजार केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए । स्वदेशी उत्पादनको प्रवद्र्धन र निर्यात व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
पौडेलले देशको समग्र आर्थिक विकासका लागि स्थायी र बलियो सरकार आवश्यक रहेको उल्लेख गर्दै नीतिगत सुधार बिना अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने बताए । आफू अर्थमन्त्री रहँदा सुधारका प्रयास गरे पनि राजनीतिक अस्थिरताले निरन्तरता दिन चुनौती भएको उनले स्वीकार गरे ।
कार्यक्रममा नेकपा एमालेका समानुपातिक उम्मेदवार तथा उद्योगी एजाज आलमले रुपन्देहीको विकासका लागि एमाले उम्मेदवारलाई समर्थन गर्न निजी क्षेत्रलाई आह्वान गरेका थिए ।





















