बुटवल, २७ माघ ।
माघको अन्तिम साता चलिरहदा बुटवलमा चिसो बिदा लिने नाम लिएको छैन । बिहिबार दीपिका हेल्थकेयर प्रालिमा एउटा युवा आफनो आमासंगै उपचारका लागि आए ।
टिकटको पालो आएपनि वरिष्ठ न्यूरोसर्जन डा केआई सिह केसीको कोठामा पुग्दा उनिहरु खुशी देखिए । टाउकोमा खाल्टो परेको समस्या बताउदै गर्दा शुरुमा त डा केसीले उनलाई चिनेनन ।
बिस्तारै आमाले परिचय दिएपनि बल्ल उनलाई १० वर्ष अघिको घटना फल्यास ब्याक भयो । चौराह अस्पतालको आकस्मिक कक्ष, टाउको फुटेर गिदी नै निक्सिएको बालक भर्ना, रुदै कराउदै गरेको उनै आमा, हजुरबुबा सम्झिए ।
अस्पतालको शैयामा जीवन–मृत्युको संघर्ष गरिरहेको त्यो सानो बालक अहिले नौ कक्षामा पढ्ने, कदमा आफैभन्दा अग्लो भइसकेको युवकका रुपमा चिकित्सकको अगाडी उभिएका थिए । जटिल शल्यक्रिया गरि बालकलाई बचाउन सफल भएको र सोही बालक १० वर्ष पछि भेट्दा डा. केसी धेरै खुशी थिए ।
दाङ्गबाट एउटा सात वर्षको उमेरमा दुर्घटनामा परेका उनलाई एम्बुलेन्समा अस्पताल ल्याईएको थियो । उनको टाउकोमा चोट थियो ।
खेतमा धान काट्ने मेशिन (थे्रसर) मा परेर टाउकोको अगाडीको भाग काटेर गिदी नै बाहिर निस्कियो । टुक्रिएको अवस्थामा हडडीहरु थिए । वरिष्ठ न्यूरोसर्जन डा केआई सिह केसीले तत्काल उपचार शुरु गरे ।
ती बालकको शल्यक्रिया सफल भयो । करिब दुई हप्ता अस्पतालमा चिकित्सकको निगरानीमा रहे । यही क्रममा छोरा भेट्न भनी कतारबाट बुबा नेपाल फर्कने क्रममा दुर्घटनामा परेर निधनको अर्को पीडादायी घटना घट्यो ।
डेढ महिनापछि फलोअपमा आए । केही महिनापछि शल्यक्रिया गरि टाउकोमा कृतिम हडिड राख्ने सल्लाह भयो । बालककी आमाले आफनो कमजोर परिवारिक आर्थिक अवस्था रहेको जानकारी दिइन । डेढ लाख रुपैयाजति खर्च हुन्छ । आवश्यक सामग्रीको जुटाएर निशुल्क शल्यक्रिया गर्ने वाचा पछि छुटिटएका परिवार सम्पर्कविहीन बने ।
सोही बालक र आमा दश वर्षपछि भेटिएका हुन । अब भने उनको वार्षिक परीक्षा सकिएपछि निशुल्क थप शल्यक्रिया गरिदिने चिकित्सकले प्रतिबद्धता व्यक्त गरेका छन ।
हजारौ बिरामीको शल्यक्रिया गरि जिवन बचाएका डा. केसीलाई यो भेट विशेष बन्यो । ‘वैशाखमा अपरेसन गर्ने लक्ष्य रहेको छ ।’– डा.केसीले भने । चिकित्सा पेशा प्रति आम नागरिकको नकारात्मक सोच देखिरहेको बेला सामाजिक उत्तरदायित्व अन्तरगत रहेर गरिने यस्ता कर्म महत्वपूर्ण हुन्छ ।



















