बुटवल, २३ माघ ।
सिद्धार्थ हस्पिटालिटीले आफ्नो २८ औँ तथा सिद्धार्थ कटेज प्राइभेट लिमिटेडको पहिलो वार्षिक उत्सव भब्य रुपमा सम्पन्न गरेको छ । विभिन्न सामाजिक तथा उत्सवमूलक सप्ताहब्यापी कार्यक्रममार्फत शुभारम्भ गरेको कार्यक्रमको शुक्रबार औपचारिक कार्यक्रमसंगै समापन भएको हो ।
एक समारोहका बिच वरिष्ठ न्यूरोसर्जन डा. केआई सिंह केसीले केक काटेर औपचारिक कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा डा. केसीले स्वदेशी लगानी र उद्यमशीलताबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताए । उनले हस्पिटालिटी क्षेत्र रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनका लागि सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे । स्थापनाकालमा कटेजबाट दिएको पारिवारिक वातावरणको सेवासंगै गुणस्तरीय परिकारका कारण सेवाग्राहीको मन जित्न सकेको दाबी गर्दै यसलाई निरन्तरता दिन समेत सुझाव दिए ।
कार्यक्रममा सिद्घार्थ हस्पिटालिटीका बिओडी तथा रिजनल डाइरेक्टर महेन्द्र न्यौपानेले संस्थाको स्थापना, विस्तार र भावी योजनाबारे जानकारी गराए । उनले वैदेशिक रोजगारी र लगानीभन्दा स्वदेशमै उद्योग–व्यवसाय सञ्चालन गर्नु आजको आवश्यकता भएको धारणा राखे । न्यौपानेका अनुसार सिद्घार्थ हस्पिटालिटीले लगानीका आधारमा तीन किसिमका सदस्यको अवधारणा अघि सारेको छ, जसमा सक्रिय सदस्य, विषयगत क्षमताका आधारमा लगानी गर्ने सदस्य तथा हस्पिटालिटी क्षेत्रमा केन्द्रित लगानीकर्ता रहेका छन् । रेमिटान्सभन्दा पनि स्वदेशी कलकारखाना र सेवा उद्योग आवश्यकता भएको बताउदै पर्यटन क्षेत्रमा सिद्धार्थको योगदान रहेको बताए ।
‘हामीहरुले भिजन, मिसन र टारगेट अनुसार अघि बढेका छौ ।’–उनले भने । यो वर्ष एन्टी क्यान्सर फुडको बारेमा यो वर्ष विशेष योजना अघि सारेको भन्दै यसका लागि चिकित्सकहरुसंग सरसल्लाहमा खाना पस्कने उनले बताए । सन् २०३० सम्मका लागि स्पष्ट लक्ष्य र दीर्घकालीन भिजन तय गरेर अघि बढिरहेको उनले बताए । ‘मेरो सिद्घार्थ’ नारा बनाएर हामी संस्थागत पहिचान र सेवाको गुणस्तर थप सुदृढ बनाउने दिशामा यो वर्ष तयारी भएको उनले बताए ।
कार्यक्रममा सिद्घार्थ कटेजका एफएन्डडी एक्जुकेटिभ हरि पराजुलीले टिकापुरबाट सुरु भएको सिद्घार्थ कटेजको यात्राले विभिन्न चरण पार गर्दै हालको अवस्थासम्म आइपुगेको अनुभव सुनाए । उनले सेवा, आतिथ्य र गुणस्तरलाई प्राथमिकतामा राख्दै अघि बढ्दा संस्थाले निरन्तर विश्वास आर्जन गर्न सफल भएको बताए ।
योगीकुटी रेष्टुरेन्ट म्यानेजर सनत केसी, एचआर संयोजक जास्मिन टण्डनले स्वरोजगार दिने गरि कटेज देशभरमा विस्तार भएको बताए । योगीकुटी रेष्टुरेन्टमा हाल ४९ जना कर्मचारी कार्यरत छन ।






















