बुटवल, २३ माघ ।
रुपन्देहीका शैक्षिक संस्थाहरु विद्यार्थी संख्याभन्दा पनि गुणस्तरमा जोड दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । शैक्षिक हबका रुपमा पहिचान बनाएको रुपन्देहीको गरिमालाई जोगाउने जिम्मेवारी यहाका शैक्षिक संघसंस्थाहरुको भएको भन्दै गुणस्तरमा जोड दिनुपर्ने बताएका हुन । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय (हिसान) रुपन्देहीको शुक्रबार भएको १४ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै हिसान नेपालका केन्द्रिय निर्देशक प्राडा आरसी आचार्यले रुपन्देहीलाई शैक्षिक हबका रुपमा विकास गर्न सबै एकजुट भएर अघि बढनुपर्ने बताए । विश्वमा नै परिवर्तन निरन्तर जारी रहेको भन्दै शैक्षिक क्षेत्रमा पनि अंगिकार गर्दै अघि बढ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा हिसानका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्यायले रचनात्मक कार्यक्रम संचालन गर्दै विधार्थीहरुको क्षमता प्रष्फुटन गराउदै आएको बताए । विधार्थीहरुलाई शैक्षिकमात्र नभई अतिरिक्त क्रियाकलापमा जोड दिएको उनले बताए । आगामी दिनमा संस्थागतरुपमा शिक्षक र कर्मचारीहरुको क्षमता विकासमा पनि कार्यक्रम गर्न सुझाव दिए ।
हिसानका केन्द्रिय सचिव कृष्ण पौडेलले रोबोटिक्स एआईलाई करिकुलममा राख्ने, प्राचार्य, शिक्षक, कर्मचारीहरुलाई नयाढंगबाट अघि बढ्न तालिम दिने गरि हिसान केन्द्रमा समिति गठन भएको बताए । आवश्यकता अनुसार जिल्लाहरुमा यस्ता गतिविधिमा सहकार्य गर्ने उनले बताए । यसैगरि हिसान केवल कक्षा ११ र १२ मा सिमित नरही विभिन्न विश्वविद्यालयबाट सम्बद्र्धन प्राप्त कलेजहरुलाई समेट्ने केन्द्रको नीति अनुसार सदस्यता बढाउन अन्य जिल्लाहरुलाई उनले सुझाव दिए ।
कार्यक्रममा अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवालीले रुपन्देहीको शैक्षिक पहिचान र गरिमालाई कायम गर्ने गरि लाग्न सुझाव दिए । केवल संख्या बढाउने भन्दा पनि शैक्षिक गुणस्तर वृद्घिमा जोड दिन सुझाव दिए । टाढाका विधार्थीहरुलाई ल्याउनभन्दा यथास्थानमा रहेको कलेजलाई क्षमता विकासमा जोड दिनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा हिसानका केन्द्रिय सदस्य दिनेश भुषाल, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण न्यौपाने, उपाध्यक्ष बाबुराम बन्जाडेले वार्षिक कार्ययोजना अनुसार हिसान नया र उदाहरिणय कांर्यक्रमहरु गर्दै आएको भन्दै यसबाट अन्य संस्थाभन्दा फरक पहिचान बनाउन सफल भएको दाबी गरे ।
संस्थाको स्थापना दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । यसैगरि विभिन्न कार्यक्रम सम्पन्न गर्न संयोजक तथा टिममा रहेर भुमिका निर्वाह गर्ने दिनेश भुषाल, बाबुराम बन्जाडे, लक्ष्मण अर्याल, मधुप्रकाश ज्ञवाली, सुमन भुषाल, प्रकाश पन्तलाई सम्मान गरिएको थियो ।





















