बुटवल,१४ माघ । श्री नेवाः सेवा समिति बुटवलले सामूहिक ईही (बेल विवाह) तथा बालकहरूका लागि सामूहिक कय्ता पूजा (ब्रतबन्ध तथा उपनयन संस्कार) कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलन मार्फत समितिले उक्त कार्यक्रम यही माघ २० र २१ गते बुटवल–११ स्थित भूपू सैनिक भवनको प्राङ्गणमा आयोजना हुने जानकारी दिएको हो ।
समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठका अनुसार बुटवलसहित पश्चिम नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायका बालबालिकाको कार्यक्रममा सहभागिता रहनेछ । निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हालसम्म ईही पूजाका लागि ६२ जना कन्या तथा कय्ता पूजाका लागि १४ जना बालकले नाम दर्ता गराएको बताए ।
नेवार समुदायमा अनिवार्य मानिने यी संस्कारहरू बुटवलमा यसअघि १५ पटक सम्पन्न गरिसकेको र यस पटक १६ औँ संस्करणका रूपमा आयोजना गर्न लागेको समितिले जनाएको छ । कार्यक्रम संयोजक अञ्जु श्रेष्ठका अनुसार पहिलो दिन बिहान सहभागी कन्याहरू भेला भएपछि नेवाः सेवा समितिको अवलोकन सहित सांस्कृतिक र्याली आयोजना गरिनेछ । पूजासम्बन्धी मुख्य विधि तथा संस्कारहरू भने दोस्रो दिन माघ २१ गते सम्पन्न गरिने संयोजक श्रेष्ठले जानकारी दिईन्






















