बुटवल, १४ माघ ।
पश्चिमबाट प्रवेश गरेको न्यून चापीय मौसम प्रणालीको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा र हिमपात भइरहेको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशमा यसको असर बढी देखिएको छ भने पहाडी र हिमाली क्षेत्रमा पानीसँगै हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मंगलबार साँझदेखि नै सुदूरपश्चिमका जिल्लामा हल्का वर्षा सुरु भएको थियो । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार हाल पानी पार्ने बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले कर्णाली र लुम्बिनी प्रदेशमा पछिल्लो समय वर्षा बढी देखिएको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिउँसोपछि हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । मधेश प्रदेश र पूर्वी तराईका झापा लगायत केही जिल्लाबाहेक देशका अधिकांश स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मनाङ, मुस्ताङसहित पूर्वी पहाडी जिल्लामा पानीसँगै हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार मनाङ, मुस्ताङसहित पूर्वी पहाडी हिमाली भेगमा मध्यम खालको हिमपात हुन सक्नेछ । मौसम प्रणाली आज साँझपछि क्रमशः कमजोर हुँदै जाने र आकाश खुल्दै मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।






















