बुटवल, १२ माघ ।
रुपन्देहीको देवदहमा जारी यु–१७ अन्तर एकेडेमी जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा वेष्ट्रन क्रिकेट एकेडेमी विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा सोमबार भएको खेलमा न्यू होराईजन स्र्पोटस एकेडेमीलाई २९ रनले पराजित गर्दै वेष्ट्रनले स्पष्ट अंक जोडेको हो ।
देवदह खेलमैदानमा भएको प्रतियोगितामा टस जितेर न्यू होराईजनले फिल्डिङ्ग रोजेपछि वेष्ट्रनले २४.५ ओभरमा ७२ रनको झिनो लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका लागि अनुप न्यौपानेले ४५ बलमा ३० तथा रिसब बेल्बासेले ११ बलमा १२ रन जोडे । कम स्कोरमा रोक्न न्यू होराईजनका अमृत अर्यालले ४, अनिस भट्टराईले ३ तथा रिजन बुढाथोकीले २ बिकेट लिए । झिनो लक्ष्य पछ्याएको न्यू होराईजन २० ओभरमा केवल ४३ रनमा समेटियो । न्यू होराईजनका अमृत अर्यालले १६ बलमा १२ रनबाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन । वेष्ट्रनको जितमा सागर गैरेल शानदार ४ तथा सुप्रिम कंडेलले ३ बिकेट लिए । खेलमा वेष्ट्रनका सागर गैरे प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
मंगलबार जेआर क्रिकेट एकेडेमी र स्टार क्रिकेट एकेडेमीका बिचमा खेल हुने छ । प्रतियोगितामा रुपन्देही र नवलपरासीसहित विभिन्न जिल्लाका गरि ६ वटा टिममा ९० जना खेलाडीहरु सहभागी भएका छन ।





















