बुटवल,१२ माघ । “बौद्धिक पलायनको लहरः रित्तिँदै गाउँ र सहर” विषयक जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सैनामैना मेमोरियल स्कुलमा सम्पन्न भएको छ । प्रतियोगितामा न्यू होराइजन बोर्डिङ स्कूलकी आयुषा रिजाल प्रथम,एभरेष्ट इंग्लिश बोर्डिङ स्कुलकी खुसी पाण्डे द्वितीय,प्रभात इंग्लिश स्कूलकी कृतिमा उपाध्याय तृतीय भइन् ।
प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमशः नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यार्थीको बौद्धिक तथा प्रतिस्पर्धात्मक अभिव्यक्ति क्षमता, विश्लेषणात्मक सोच र आत्मविश्वास अभिवृद्धि गर्ने विद्यालयका प्राचार्य डी.बी. खत्रीले बताए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष तथा केन्द्रीय महासचिव साहित्यकार पुरुषोत्तम पाण्डे र लेखक तथा साहित्यकार रमेश समर्थन निर्णायकको भूमिकामा रहेका थिए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य उमलाल बन्जाडे, सैनामैना नगरपालिका वडा नं. १ का वडाध्यक्ष भुवन क्षेत्री, वडा सदस्य प्रेमलाल भुसाल, प्रबन्ध निर्देशक जे.बी. क्षेत्री, सह–प्राचार्य पदम अर्याल, शैक्षिक सल्लाहकार लिलाधर घिमिरे, अतिरिक्त कार्यक्रम विभाग प्रमुख प्रकाश चौधरी तथा कार्यक्रम संयोजक विनय लम्साल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा जिल्लाभरिका विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको मिडिया कोर्डिनेटर कमल खड्काले बताए ।






















