बुटवल, १२ माघ ।
लुम्बिनी आयुर्वेद चिकित्सालयको व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भुसाल र सदस्य विमला श्रेष्ठको औपचारिक पदभार ग्रहण भएको छ । आईतबार पदभार ग्रहण गर्दै अध्यक्ष भुसालले चिकित्सालयको विकासका योजनाबारे प्रकाश पारे । चिकित्सालयको सेवा विस्तार, विशेषज्ञ सेवा प्रवाह र सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
चिकित्सालयलाई आर्थिक रूपमा सबल बनाउँदै यस क्षेत्रकै सशक्त रिफरल अस्पतालको रूपमा विकास गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले व्यवस्थापकीय कार्य, कर्मचारी व्यवस्थापन र दैनिक सञ्चालन प्रशासनको जिम्मेवारीमा रहने र नीतिगत नेतृत्व समितिको भूमिकामा रहने स्पष्ट पारे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष शिव ज्ञवालीले चिकित्सालयको विगत अवस्था, विकासको गति र आगामी चुनौतीबारे जानकारी गराए ।
कार्यक्रममा चिकित्सालयका प्रमुख डा. कलावती बिक, बरिष्ठ कबिराज अधिकृत गणेश सापकोटाले अस्पतालको सेवाप्रवाह र चुनौतीका बारेमा प्रकाश पारे । पदभार ग्रहणको अवसरमा चिकित्सालय परिसरमा रुद्राक्षको विरुवा रोप्ने कार्यक्रम पनि गरिएको छ ।





















