बुटवल, ७ माघ ।
रुपन्देहीमा जारी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ को उपाधिका लागि न्यू होराईजन स्र्पोटस क्लब र काशी नोबेल एकेडेमी भिड्ने भएको छ । बुधबार भएको पहिलो सेमीफाईनलमा न्यू होराईजनले वेष्ट्रन क्रिकेट एकेडेमीलाई ४४ रन तथा दोस्रो सेमीफाईनलमा काशी नोबेलले स्टार क्रिकेट एकेडेमीलाई ७५ रनले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल विहिबार दिउसो हुने खेल संयोजक शक्ति गौचनले बताए ।
कर्मडाडास्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर वेष्ट्रनले बलिङ्ग रोजेपछि न्यू होराईजनले निर्धारित २० ओभरमा एक विकेटको नोक्सानीमा शानदार १४५ रन बनायो । न्यू होराईजनका अब्राहम अलिले ६९ बलमा नटआउट ८६ रन तथा आरुष अधिकारीले ४२ बलमा ३८ रन जोडे । मध्यम स्कोर पछ्याएको वेष्ट्रन १६.१ ओभरमा केवल १०१ रनमा समेटियो । वेष्ट्रनका मोहमद शामीले २६ बलमा ३७ तथा पुष्कर रायमाझीले १६ बलमा १७ रन जोडे । कम स्कोरमा रोक्न न्यू होराईजनका अभिम भुषालले ३ तथा रिजन बुढाथोकीले २ बिकेट लिए । खेलमा न्यू होराईजनका अब्राहम अलि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो सेमीफाईनलमा काशीले टस जितेर ब्याटिङ्ग रोज्दै निर्धारित २० ओभरमा ९ बिकेटको नोक्सानीमा १५० रन बनायो । काशीका सरिक अलिले २३ बलमा बिस्फोटक ५३ तथा सजिद अलिले १८ बलमा २४ रन जोडे । स्टारका सुजन परियाले ४ बिकेट लिए । मध्यम स्कोर पछ्याएको स्टार १३.५ ओभरमा केवल ७५ रनमा समेटियो । स्टारका अनुज ज्ञवालीले २३ बलमा १३ रनबाहेक अन्य ब्याटर चल्न सकेनन । कम स्कोरमा रोक्न काशीका सरिक अलि र सिमन सुवेदीले समान २–२ बिकेट लिए । खेलमा काशीका सरिक अलि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।




















