बुटवल, ७ माघ ।
चितवनको राप्ती नगरपालिका–९ स्थित श्री लेकाली आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ । मिलिजुली सामाजिक प्रतिष्ठान र गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सहयोग हस्तान्तरण गरिएको हो ।
दुर्गम क्षेत्रका तथा आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यका साथ विद्यालयमा अध्ययनरत ७६ जना विद्यार्थीलाई ट्रयाकसुट, कोशेली छाला जुत्ता तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको मिलिजुली सामाजिक प्रतिष्ठानकी संरक्षक रारा सैंजुले बताईन । मिलिजुली सामाजिक प्रतिष्ठानकी संरक्षक रारा सैंजुको ३१ औँ वैवाहिक वर्षगाँठको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संरक्षक सैंजुले दुर्गम क्षेत्रका बालबालिकालाई शिक्षाको मूलधारमा जोड्न कार्यक्रमबाट सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन । आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाईन ।
कार्यक्रममा अन्तर्राष्ट्रिय जेसिसका पूर्व उपाध्यक्ष अनुपमान सैंजु, प्रतिष्ठानका अध्यक्ष माधव शर्मा, संयोजक सम्झना गौतमले सामाजिक कार्यमा सबैको हातेमालो जरुरी रहने बताए ।






















