बुटवल, ४ माघ ।
रुपन्देहीमा जारी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ मा स्टार क्रिकेट एकेडेमी र न्यू होराईजन स्र्पोटस क्लब विजयी हुदै अंक जोडेका छन । स्टार क्रिकेट एकेडेमीको आयोजनामा आईतबार भएको खेलमा स्टारले वेष्ट्रनलाई ४ बिकेट तथा न्यू होराईजन स्र्पोटस क्लबले बुटवल क्रिकेट एकेडेमीलाई १२३ रनले पराजित गर्दै अंक जोड्न सफल भएको हो ।
कर्मडाडामा भएको खेलमा टस जितेर वेष्ट्रनले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ७ बिकेटको नोक्सानीमा १३२ रन बनायो । उसका लागि अर्पण तिमिल्सिनाले शानदार अर्धसतकीय पारी खेले । उनले ५६ बलमा ६४ रन जोडे । बिराट नेपालले ४२ बलमा २४ रन बनाए । मध्यम लक्ष्य पछयाएको स्टारले ६ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसका लागि अमित कुमार यादवले ५१ बलमा ८८ तथा हर्सित शाहीले १३ बलमा १३ रन बनाए । वेष्ट्रनका समी मुसलमानले २ बिकेटले लिए । खेलमा स्टारका अमित कुमार यादव प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा टस जितेर बुटवलले ब्याटिङ रोजेपछि न्यू होराईजनले निर्धारित २० ओभरमा ९ बिकेटको नोक्सानीमा १८९ रन बनायो । न्यू होराईजनका उच्च स्कोर खडा गर्न दुई जनाले अर्धशतक पुरा गरे । अब्राहम अलिले ४५ बलमा ५७ र आशिष यादवले ३५ बलमा ५१ रन बनाए । आयुष अधिकारीले २३ बलमा ३९ रन जोडे । बुटवलका सियम खड्का र अभिषेक रेग्मीले समान २–२ बिकेट लिए । बिशाल लक्ष्य पछ्याएको बुटवल १६.१ ओभरमा केवल ६७ रनमा समेटियो । बुटवलका अग्रिम डंगोलले १२ रनबाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन । न्यू होराईजनका रिजन बुढाथोकीले ४ तथा आरुष अधिकारीले २ बिकेट लिए । खेलमा रिजन बुढाथोकी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।





















