बुटवल, ३ माघ ।
रुपन्देहीमा जारी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ मा वेष्ट्रन क्रिकेट एकेडेमी र बुटवल क्रिकेट क्लब विजयी हुदै अंक जोडेका छन । स्टार क्रिकेट एकेडेमीको आयोजनामा शनिबार भएको पहिलो खेलमा वेष्ट्रनले जितगढी रोयल क्रिकेट एकेडेमीलाई ७ तथा दोस्रो खेलमा बुटवलले गुरुकुल क्रिकेट एकेडेमीलाई ६ बिकेटले पराजित गरेको हो ।
कर्मडाडास्थित खेलमैदानमा टस जितेर वेष्ट्रनले ब्याटिङको निम्तो दिएपछि जितगढीले ७ बिकेटको नोक्सानीमा ९३ रन बनायो । जितगढीका कृष्ण पन्तले २५ बलमा २८ तथा अभिरया चन्दले ५० बलमा १४ रन जोडे । कम स्कोरमा रोक्न वेष्ट्रनका पुस्कर रायमाझीले शानदार ३ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेष्ट्रनको ब्याटरहरुले केवल ३ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । वेष्ट्रनका पुस्कर रायमाझीले २३ बलमा २४ तथा अपर्ण तिमिल्सिनाले ३३ बलमा ४१ रन जोडे । जितगढीका पुस्कर रायमाझी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर बुटवलले बलिङ रोजेपछि गुरुकुलले निर्धारित २० ओभरमा ७ बिकेटको नोक्सानीमा ११० रन बनायो । गुरुकुलका एन्जिता पाठकले ३८ बलमा ३३ तथा अक्सान्त श्रेष्ठले ४६ बलमा ३२ रनको योगदान दिए । बुटवलका सिजन खड्काले ४ तथा बिकास चौहानले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको बुटवलले १७ ओभरमा ४ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । बुटवलका विकास अर्यालले नटआउट अर्धसतक बनाए । उनले ५० बलमा ५४ रनको योगदानको पारी खेले । सुनिल भण्डारीले १९ बलमा १५ रन जोडे । गुरुकुलका प्रितम कार्की र एन्जिला पाठकले समान १–१ बिकेट लिए । खेलमा बुटवलका विकास अर्यालले प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।





















