Spread the love

बुटवल, २४ पुस ।
पोखरामा भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड ०८१ अन्तर्गत कराँतेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसिंह ऐरी क्रमशः महिला र पुरुषतर्फका वर्ष खेलाडी घोषित भएका छन् । पारा तेक्वान्दोकी पलेसा गोवर्धन ट्रेजब्लेजर अफ द इयरको अवार्डले सम्मानित हुँदा अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइम एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार पोखरा सभागृहमा आयोजना गरेको कार्यक्रममा विभिन्न १० बिधामा अवार्ड वितरण गरिएको थियो । लगातार दोस्रोपटक महिलातर्फको अवार्ड हात पारेकी एरिकाले खोखोकी मानमती धाँमी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पारेकी हुन् ।

दीपेन्द्रले क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका स्यान्टु श्रेष्ठलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । गत वर्ष दीपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै इतिहास बनाएका थिए । यस्तो कीर्तिमान बनाउने टी–२० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुन् ।

पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित भएकी थिइन् ।

लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट सम्मानित रानाभाट नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुन् । खेल जीवनपछि उनी प्रशिक्षणमा ब्यस्त रहेका छन् । उनी सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुगेका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको संगठन बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका उनले पोखरा म्याराथनलाई स्थापित मात्र गरेनन्, सफलतापूर्वक अगाडि बढाएका छन् ।
भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जितेका छन् । इसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बनेका हुन् । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गरेका थिए ।

पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गरे । यसैगरि युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित भइन् । पारा एथ्लिेटस अवार्डबाट पारा एथलेटिक्स खेलाडी प्रभा आङदम्बे सम्मानित भइन् । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् ।
स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङ सम्मानित भए । पोखरेली गुरुङले गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गरेका थिए । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुन् ।

भारतको नयाँ दिल्लीमा भएको पहिलो खो खो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजत पदक दिलाउने खो खो पुरुष र महिला टिमलाई टिम अफ द इयरको अवार्ड प्रदान गरिएको छ । ‘टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो । यस्तै, बंगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्टस् जर्नलिस्ट अवार्ड प्राप्त गरेका छन् । वर्ष खेलाडी पुरुष–महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही एक लाख प्रदान गरिएको थियो ।

विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, आयोजक मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अन्जन खड्का, कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले अवार्ड वितरण गरेका थिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्