बुटवल, २४ पुस ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन् । राजीनामा लगत्तै पत्रकार सम्मेलन गरेर आफूले गरेका उपलब्धीको समेत जानकारी गराएका छन् ।
घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता गर्नेसम्बन्धी समझदारी अनुसार उनी रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ । तर उनले मंगलबार मात्रै आफू कुनै पार्टीको सदस्य नरहेको भनाइ विवादमा आएपछि उनलाई राजीनामाको दबाब बढेको हो । यसअघि उनले उम्मेदारी दर्ता गर्ने समयमा राजीनामा दिने संकेत गरेका थिए । घिसिङ काठमाडौं ३ बाट निर्वाचनमा उठ्ने तयारी गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीन वटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा घिसिङलाई बधाई र धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यता मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गरे ।





















