Spread the love

बुटवल, २२ पुस ।
नेवा संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवलमा आयोजना गरिएको योमरी महोत्सवमा योमरी चाख्ने स्थानीयहरूको उल्लेख्य भिड लाग्यो । चिसो मौसममा शरीरमा ताप उत्पन्न गर्ने तथा स्वादिलो परिकार भएकाले पनि महोत्सवमा सहभागीहरू आकर्षित भएका हुन् ।

नेवा देय दबू र नेवा मिसा दबूको संयुक्त आयोजनामा मिलनचोक तिनकुनेमा सोमबार आयोजना गरिएको कार्यक्रममा नेवारी पहिरनमा महिलाहरुले योमरी, सेलरोटी, आलुको अचार तयार गरेर पस्केका थिए । विशेष नेवार समुदायमा धान्य पूर्णिमाको दिन योमरी खाने प्रचलन रहेको नेवा देय दबू बुटवल नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले बताए । बुटवलको मिलनचोकमा राखिएको महोत्सवमा नेवारी समुदायमा लोकप्रिय परिकार योमरी खान नेवारमात्र नभई गैर नेवार समुदायको समेत उपस्थिती उल्लेख्य रहेको उनले बताए । योमरीलाई नेपाल सरकारले अभौतिक सम्पदाको सूचीमा सूचिकृत गरेको हुदा पनि अब यो एउटा समुदाय विशेषको मात्र नरहेर सम्पूर्ण नेपालीहरुको मनपर्ने साझा परिकारको रुपमा चिनिने उनले बताए ।

एक समारोहका बिच नेवा दय देबु लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, नेवा दय देबु रुपन्देही जिल्लाका वरिष्ठ उपाध्यक्ष अरुणा श्रेष्ठले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेवारी परिकार बैज्ञानिक रुपमा पनि उत्कृष्ट रहेको प्रमाणित भएको हुदा मानव उपयोगी भएको बताए । महोत्सवमा करीब ६ सय बढीको सहभागीता रहेको मिसा दबूका अध्यक्ष सिता जोशीले बताईन ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्