Spread the love

 

बुटवल, २१ पुस । नेपाल फोटोग्राफर महासंघको काठमाडौंमा आईतबार सम्पन्न अधिवेशनले रुपन्देहीमा क्रियाशील फोटोग्राफर महेन्द्रप्रसाद उपाध्यायलाई निर्विरोध केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको छ । उनीसँगै ३९ सदस्यीय कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त दलबहादुर गुरुङले जानकारी गराए ।

जस अनुसार वरिष्ठ उपाध्यक्ष एक जना,उपाध्यक्ष ६ जना,महासचिव एकजना,सचिव तीन जना,कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी २५ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनमा सातैवटा प्रदेशका एक सय २२ जना फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।

महासंघको उद्घाटन सत्रका प्रमुख अतिथि सिनेटो फोटोग्राफर एवम् फिल्म निर्देशक मञ्जुकुमार श्रेष्ठले नेपालमा फोटोग्राफी पेसा र संलग्न फोटोग्राफरहरु संकटमा पर्दै गएको विषम परिस्थितिमा देशभरिका फोटोग्राफरहरुलाई समेटेर नेपाल फोटोग्राफर महासंघ स्थापना हुनु र प्रथम महाधिवेशनमा आफू नै प्रमुख अतिथि बन्न पाउँदा हर्ष प्रकट गरे । साथमा अग्रज फोटोपत्रकार,फोटोग्राफरहरुले महाधिवेशनको सफलता र फोटोग्राफरहरुको हकहित र अधिकारका निम्ति निरन्तर गतिशीलताको कामना गर्दै बलियो र दीर्घकालीन महासंघको खाँचो रहेकोमा जोड दिए ।

महासंघ गठनदेखि दर्ता,यसको गतिविधि र संस्थागत विकासका निम्ति महासंघ तदर्थ समितिका अध्यक्ष महेन्द्र उपाध्यायले प्रगति प्रतिवेदन पेश गरेका थिए । साथमा महासंघका कोषाध्यक्षमार्फत् आर्थिक प्रतिवेदन पेश गरिएको थियो । वन्दसत्रमा महासंघको विधान संशोधन उपसमितिका संयोजक दिनेश अर्याल र सदस्य अधिवक्ता कमला पन्थ तिवारीले विधानको संशोधित दफा,उपदफा र धाराहरुका बारेमा छलफल चलाएका थिए । महाधिवेशनको उद्घाटन सत्रमा उत्कृष्ट फोटोग्राफर,सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

निर्वाचनलाई सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन आयुक्तमा दलबहादुर गुरुङ,सदस्यहरुमा अधिवक्ता विष्णु पोख्रेल, रोशनमान श्रेष्ठ र निर्वाचन प्रवेक्षकका रुपमा अधिवक्ता युवराज घिमिरे रहेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्