Spread the love

बुटवल, २० पुस ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट अनुदान नपाए माघ १ गतेदेखि डाइलाइसिस सेवा रोक्ने घोषणासँगै मृगौला रोगका पीडितहरु आन्दोलित भएका छन् । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपालले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका हुन । उक्त घोषणासँगै अस्पतालमा डायलाइसिस गराउदै आएका ५५१ जना बिरामीहरु मर्कामा पर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका संस्थापक अध्यक्ष रमेश केसीले अस्पताल प्रशासनसँगै सरकार गम्भीर भएर समस्या समाधान गर्न आग्रह गरेका छन् । सेवा बन्द भएमा अस्पतालको अगाडि सडकमै सुतेर जीवन अन्त्य गर्ने मृगौला पीडितहरुले चेतावनी दिएका छन् ।

गौतमबुद्ध सामुदायिक अस्पतालले सञ्चालन गरेका डायलाइसिस सेन्टरमध्ये बुटवलबाट ३११ जना, लमहीबाट ५७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मृगौलाका बिरामीले नियमित रूपमा निःशुल्क डायलाइसिस सेवा लिँदै आएको अस्पतालका अध्यक्ष आलमले बताए । अस्पतालले सरकारबाट नियमित रूपमा प्राप्त गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या थपिएको जनाउँदै विपन्न नागरिक औषधि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मुटु उपचारका लागि प्रदान गर्दै आएको रु एक लाखसम्मको उपचार सेवा र मृगौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्द गर्न बाध्य हुने बताएका छन् ।अस्पतालले सरकारबाट रु १७ करोड ८१ लाख नौ हजार ३७९ भुक्तानी बाँकि रहेको जनाएको छ । चालु आर्थिक वर्षसम्ममा मुटु तथा मृगौला बिरामीको उपचारबापत नेपाल सरकारले प्रदान गर्ने रकम रु २० करोड ३९ लाख ३१ हजार ८७९ रहेको भएपनि सरकारले हालै रु दुई करोड ५८ लाख २२ हजार ५०० मात्रै उपलब्ध गराएको अस्पतालका अध्यक्ष एजाज आलमले बताएका छन् । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिँदा रु एक लाख तथा मृगौलाका बिरामीको डायलाइसिस निःशुल्क गर्दै आएको छ ।

सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा मात्रै एक हजार ३८४ जना मुटुका बिरामीलाई रु ४ करोड ६४ लाख ८९ हजार १४ बराबरको उपचार सेवा यस अस्पतालमार्फत प्रदान गरिएको जनाएको छ । त्यसैगरी, मृगौला बिरामीको डायलाइसिसका लागि सरकारबाट प्रतिसेसन रु २ हजार ५०० प्राप्त हुँदै आएकामा यस वर्ष रु १३ करोड ९४ लाख ६५ हजार बराबरको ५५१ जनाको निःशुल्क डायलाइसिस गरिएको छ । मुटु र मृगौलाका बिरामीको गरी चालु वर्षमा मात्रै रु १८ करोड ५९ लाख ५४ हजार १४ बराबरको उपचार सेवा प्रदान गरिएको अध्यक्ष आलमले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्