बुटवल, १५ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट आयोजना गर्ने भएको छ ।हाल लुम्बिनी प्रदेशमा च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा रहेको लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन यही पुस १६ गते कन्सर्ट गर्ने घोषणा गरेको छ ।
सेलेब्रेसन कन्सर्ट अन्तर्गत पुस १६ गते बुटवलस्थित बुटवल ईन्टरनेसनल कन्भेन्सन सेन्टर मा साँझ ५ देखि १२ बजेसम्म बृहत कन्र्सट कार्यक्रम आयोजना गर्न लागिएको लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले बताए ।च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर अन्तर्गत लुम्बिनी प्रदेशका प्रत्येक जिल्ला तथा ती जिल्लाका समर्थकहरूको सम्मान गर्नु र स्थानीय ठाउँलाई प्रवद्र्धन गर्नु यस टुरको मुख्य उद्देश्य आयोजकले बताएको छ । महत्वपूर्ण स्थान, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरहरूको भ्रमण गर्दै नेपाली क्रिकेटको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने सहयोग पुग्ने आयोजको दावि छ ।
जिल्लामा ट्रफी सेलिब्रेसन टुर सम्पन्न भएपछि बुटवलमा चर्चित कलाकारहरू, लुम्बिनी लायन्सका खेलाडी तथा व्यवस्थापन टोली, क्रिकेट लेजेन्डहरूको विशेष उपस्थितिमा भव्य च्याम्पियन्स सेलिब्रेसन कन्सर्ट हुनेछ ।कन्सर्टमा नेपालका चर्चित गायक दुर्गेश थापा, दी ईलेमेन्ट्स ब्याण्ड, बद्रि पंगेनी, भिओमा, कविता न्यौपाने, विष्णु खत्री, एन्जिला रेग्मी, बबिता धिताल र तेरिया पुन मगरको प्रस्तुती रहनेछ । च्याम्पियन्स ट्रफी सेलेब्रेसन टुर पुस ५ गते बाँके बर्दियाबाट सुरु भईसकेको थियो । लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाईनलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।





















