बुटवल, ९ पुस ।
बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने स्वास्थ्य बीमावापतको १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ भुक्तानी पाउन सकेको छैन । बुधबार बुटवलमा संस्थाको स्थापना दिवसको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित उक्त अस्पतालका अध्यक्ष एजाज आलमले स्वास्थ्य सेवा विभाग र स्वास्थ्य बीमा बोर्डबीचको समन्वयको कमीका कारण रकम भुक्तानी रोकिएको गुनासो गरे । अस्पतालले पाउनुपर्ने कुल २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँमध्ये ठूलो हिस्सा अझै प्राप्त हुन नसकेको हो ।
स्वास्थ्य बीमाको बक्यौता रकम तत्काल भुक्तानी नगरे सेवा निरन्तरतामा समस्या आउन सक्ने भन्दै अस्पताल व्यवस्थापनले सरकारको ध्यानाकर्षण गराएको छ । अस्पतालले औषधि तथा उपकरण आपूर्तिकर्तालाई १३ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको तथा बैंकबाट २ करोड रुपैयाँ ऋणसमेत लिनुपरेको अध्यक्ष आलमले बताए ।
बुटवलमा विगतमा मुटुरोगको उपचार सुविधा नहुँदा सामान्य उपचारका लागि समेत बिरामी अन्यत्र जानुपर्ने बाध्यता रहेको स्मरण गराउँदै उनले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले स्थापना भएको १२ वर्षमा पाँच लाखभन्दा बढी बिरामीलाई सेवा दिएको जानकारी दिए । तिलोत्तमा नगरपालिकामा अस्पताल विस्तारका लागि जग्गा प्राप्तिको प्रक्रिया अझै अधुरो रहेको छ । “नमुना अस्पताल बनाउने लक्ष्य छ, तर जग्गा प्राप्ति नहुँदा योजना अल्झिएको छ,” –उनले भने ।
अस्पतालले बुटवल, लमही, पाल्पा, वालिङ र कपिलबस्तुबाट गरी हालसम्म ५५१ जना मृगौला रोगीलाई निःशुल्क डायलाइसिस सेवा दिएको जनाएको छ । विसं २०७२ देखि सुरु गरिएको मृगौला उपचार सेवाअन्तर्गत हालसम्म ३ लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान गरिएको छ । त्यसैगरी विसं २०७३ मा सञ्चालनमा आएको क्याथ ल्याबमार्फत एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर जडानलगायत सेवा लिने बिरामीको संख्या ६ हजार ५६९ पुगेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल ३३० जनाले रोजगारी पाएका छन् भने वार्षिक कारोबार ५८ करोड रुपैयाँ रहेको छ । सरकारले बेड शुल्कमा १० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरे पनि अस्पतालले सोभन्दा बढी छुट दिँदै आएको अध्यक्ष आलमले बताए ।






















