Spread the love

काठमाडौं – सेन्ट जेभियर्स कलेजका अभिक शाहले शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियनको उपाधि जितेका छन् । हिमालयन चेस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा १७ वर्षे अभिकले सोमबार अन्तिम खेलमा हार्दिक पन्तलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कारको यो चेस प्रतियोगितामा प्रत्येक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । नौ दिनसम्म चलेको रोमान्चक प्रतिस्पर्धामा द ब्रिटिश कलेजका सजल न्यौपाने १९ अंकका साथ उपविजेता भए भने संस्कार गुरुकुलका आशिर्वाद थापा १८ अंकका साथ तेस्रो स्थानमा रहे ।

सज्जल न्यौपानेले ६ जित, १ बराबरी र २ हारको साथ १९ अंक जोडेर दोस्रो स्थान हासिल गरे । उनले अन्तिम खेलमा सात्विकमान तुलाधरलाई पराजित गरे । आशिर्वाद थापाले ५ जित, ३ बराबरी र १ हारको नतिजासहित १८ अंक जोडेर तेस्रो स्थानमा पाएका हुन् । अन्तिम खेलमा उनले लियोन महर्जनलाई पराजित गरे ।

महिलातर्फ, निहाना श्रेष्ठले १५ अंकका साथ पहिलो स्थान प्राप्त गरिन् । उजिभानी कँडेल र ओजस्वी श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । यसैगरि यू–८ तर्फ विराज सरिया, यू –१० मा शुभांग प्रधान, यू –१२ मा हार्दिक पन्त, यू –१४ मा प्रवीर केसी, र यू –१६ मा विमश लोहनी प्रथम भए । प्रतियोगितामा अरिज राईले ५ जित र ४ हारको साथ इमर्जिङ प्लेयरको अवार्ड जिते ।

यो प्रतियोगितामा २८ वटा विद्यालय र कलेजका ३० जना खेलाडीहरूले भाग लिए । प्रतियोगिता स्वीस लिग प्रणालीमा नौ चरणमा आयोजना गरिएको थियो र यसमा १५ फिडे रेटेड खेलाडी र १५ अनरेटेड खेलाडी सहभागी थिए । चेसको विकास र प्रवर्धनमा महत्वपूर्ण योगदान दिदै आएको एकेडेमीले विभिन्न कोर्सहरू र अनलाइन प्रशिक्षण कार्यक्रमहरूको माध्यमबाट हजारौं युवा खेलाडीलाई प्रशिक्षित गरेको छ । आगामी समयमा पनि एकेडेमीले नयाँ प्रतियोगिता र कार्यक्रमहरू आयोजना गर्दै चेसको स्तरलाई बढाउने प्रयास जारी राख्ने बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्