बुटवल, ५ माघ ।
रुपन्देहीका तामाङ समुदायले तामाङ नयाँ वर्ष २८६२ औँ सोनाम ल्होसार सोमबार मनाएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा देवदह नगरपालिका–चरङे स्थित तामाङ गुम्बामा विधिवत पुजाआजा, तामाङ भेषभूषासहित झाँकीसहित चरङे बजार परिक्रमा, ¥याली, तथा सांस्कृतिक कार्यक्रम गरि मनाए ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै सास्कृतिक रुपमा धनि तामाङहरु नया पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउने गरि लाग्न सुझाव दिए । सबै धर्म, संस्कृतिको संरक्षणमा पालिकाबाट सहयोग भएको उनले बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष राजेश लामा (घिसिङ) ले सांस्कृतिक पर्वका रुपमा सोनाम ल्होसारलाई मनाउदै आएको बताए । यो वर्ष सर्प वर्गको बिदाइ गर्दै घोडा वर्गलाई स्वागत गरिने बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य वीरबहादुर घिसिङ लामाले जिल्लाभित्रका विभिन्न इकाइको समन्वयमा ल्होसार मनाउने परम्परा कायम रहेको बताए । प्रत्येक वर्ष फरक–फरक स्थानमा ल्होसार मनाइँदै आएको भन्दै यस वर्ष चरङे इकाइमा सबै भेला भएर मनाईएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष वीरमान लामा, पूर्वअध्यक्ष कृष्णबहादुर मोक्तान तथा देवदह नगरपालिका चरङे समितिका अध्यक्ष निर्दोष घलान, युवा संयोजक हसन्त लामाले रुपन्देहीमा छरिएर रहेका तामाङ समुदायलाई एकताबद्ध गर्दै संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्वमा संस्था क्रियाशील रहेको बताए । हाल रुपन्देही जिल्लामा तामाङ समुदायका १३५ घरधुरी रहेको समितिका सचिव शम्भु मोक्तानले जानकारी दिए ।




















