बुटवल । नेपाल नियमित रक्तदाता संघ (केन्द्रीय समिति रुपन्देही) र स्याङ्जा मालुङ्गा–रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा बुटवलमा शुभकामना आदान–प्रदान तथा नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा ‘टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान’ भन्ने नारासहित शनिबार रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले उद्घाटन गर्दै नियमित रक्तदानको महत्वबारे चर्चा गरे । कार्यक्रममा स्याङ्जा मालुङ्गा–रुपन्देही सम्पर्क समाजका अध्यक्ष टेकनाथ बस्याल, नेपाल नियमित रक्तदाता संघका सल्लाहकार सुरेन्द्रकुमार शाक्य, उपभोक्ता हित संरक्षण मञ्चका समुद्र जिसी, समाजका सल्लाहकार लोकनाथ भण्डारी, वरिष्ठ उपाध्यक्ष सुन्दर भण्डारी, घरबाहाल सरोकार संघका अध्यक्ष राजु लिगल, क्यूआरभीटी अध्यक्ष माधव बस्नेत, नेपाल नियमित रक्तदाता संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, महासचिव दीपक अधिकारीले चाडपर्वमा रगत अभावको समस्या हुनसक्ने भन्दै यसबारे सरोकारवाला निकायहरु सचेत बन्न आग्रह गरे ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दयाबहादुर सिलवालले आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको उपलब्धता सुनिश्चित गर्न सहयोग पुग्ने भन्दै नियमित रूपमा रक्तदान गर्न सबैलाई आग्रह गरे ।
रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) को प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३३ पिन्ट रगत संकलन भएको संयोजन राजेश गैरेले बताए ।






















