Spread the love

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी विवरणअनुसार विभिन्न प्रदेशका सडकखण्डमा यातायात पूर्णरूपमा अवरुद्ध हुनुका साथै केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा रसुवाका विभिन्न सडकखण्ड बाढी तथा पहिरोका कारण अवरुद्ध भएका छन्। काभ्रेको रोशी गाउँपालिका–८ क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–८ स्थित महालक्ष्मी खोलानजिक पहिरो गएपछि महालदुङ्गा–भैँसे सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। धादिङको पृथ्वीराजमार्ग आसपासका क्षेत्रमा पनि पहिरोका कारण आवागमन प्रभावित भएको छ।

गण्डकी प्रदेशमा मनाङ, बागलुङ, म्याग्दी, मुस्ताङ, पर्वत र तनहुँका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। मनाङमा मध्यपहाडी लोकमार्ग, बागलुङमा कालीगण्डकी करिडोर, म्याग्दीमा बेनी–जोमसोम तथा बेनी–दरबाङ सडकखण्ड, मुस्ताङमा जोमसोम–कोरला सडकखण्ड, पर्वतमा मालढुङ्गा–बेनी सडकखण्ड र तनहुँमा पृथ्वीराजमार्ग पहिरोका कारण अवरुद्ध भएको विवरणमा उल्लेख छ।

यसैगरी, ललितपुरमा कान्ति लोकपथ तथा टिकाभैरव–चापागाउँ सडकखण्ड पनि पहिरोका कारण प्रभावित भएका छन्।

लुम्बिनी प्रदेशको गुल्मीमा कालीगण्डकी गाउँपालिका–२ राक्से क्षेत्रमा पहिरोका कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध रहेको जनाइएको छ।

कर्णाली प्रदेशमा कालिकोटको शुभकालिका गाउँपालिका–७ गानेखोलामा पहिरोका कारण कर्णाली राजमार्ग तथा मुगुको छायानाथ रारा नगरपालिका–७ ताल्चामा पहिरोका कारण नाग्म–गमगढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

यसैबीच, कोशी प्रदेशको सोलुखुम्बुमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गलगायतका सडकमा आवागमनमा रोक लगाइएको छ। सम्भावित भारी वर्षाका कारण आवश्यक बाहेकका सवारीसाधन तथा पैदल यात्रुलाई रात्रीकालीन आवागमनमा समेत रोक लगाइएको छ।

सडक विभागले वर्षा, बाढी तथा पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्राअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्