Spread the love

दाङ,१२ असोज ।

लुम्बिनी प्रदेशमा पछिल्लो चार दिनको अवधिमा ७८ वटा विपद्का घटना भएका छन् । असोज ८ देखि ११ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा विपद्का घटनामा परी ६ जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार विपद्का कारण प्रदेशभर १ हजार २८० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यस अवधिमा २७ वटा घर पूर्ण रूपमा क्षति भएका छन् भने ५६ वटा घरमा आंशिक क्षति पुगेको छ । १६ वटा घर डुबानमा परेका छन् भने १७० घर जोखिममा रहेका छन् ।

केन्द्रका अनुसार जिल्लागत रूपमा अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपद्का घटना दर्ता भएका छन् । त्यसपछि बाँकेमा १३ र गुल्मीमा १० वटा घटना भएका छन् । मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित देखिएको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।

विस्थापनतर्फ नवलपरासीमा सबैभन्दा बढी ७०० जना प्रभावित भएका छन् । गुल्मीमा २९८ र अर्घाखाँचीमा १७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।विपद्का कारण प्रदेशभर अनुमानित ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । आर्थिक क्षतिमा दाङ सबैभन्दा अगाडि छ ।

दाङमा २२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ । नवलपरासीमा पाँच लाख ६० हजार, बर्दियामा पाँच लाख ५७ हजार क्षती भएको छ । विपद्का घटनामा घरबाहेक अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ । ६ वटा गोठ पूर्ण र चार वटा आंशिक रूपमा क्षति भएका छन् । ७५ वटा पशु चौपाया क्षति भएका छन् । बाढीका कारण दाङ, गुल्मी र रुकुम पूर्वमा एक÷एक वटा पुलमा क्षति पुगेको छ ।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्