विराटनगर, १० असोज ।
बिराटनगरको जेम्स इन्टरनेशनल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी तथा शिक्षकलाई बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा विद्यार्थी तथा शिक्षकमार्फत आम नागरिकमा बीमासम्बन्धी सचेतना अभिवृद्धि गर्दै बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख राजेन्द्र मर्हजनले बताए । महर्जनले जीवन, घर, कृषि तथा पशुपन्छी बीमाले विपद् तथा क्षतिबाट हुने आर्थिक जोखिम न्यूनीकरणमा सहयोग पु¥याउने बताए ।
कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक पुष्पा खनालले नेपालको वित्तीय प्रणाली, बीमाको परिचय, प्रकार, महत्व तथा बीमा क्षेत्रका चुनौतीका साथै नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकारबारे जानकारी दिईन । विद्यार्थीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै बीमासम्बन्धी जानकारी समुदायस्तरसम्म पु¥याउनुपर्नेमा उनले जोड दिईन ।
कार्यक्रममा विद्यार्थीका लागि प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक पंकज खड्काले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा महत्वपूर्ण रहेको बताउँदै विद्यार्थी र अभिभावक दुवैमा व्यावहारिक वित्तीय ज्ञान बढाउन कार्यक्रम फलदायी हुने बताए ।
नेपाल बीमा प्राधिकरणकी सहायक निर्देशक सविता झाले बीमा गर्दा बीमा लेखका नियम तथा सर्तहरू राम्ररी बुझ्न आग्रह गर्दै बीमा क्षेत्रमा दक्ष जनशक्तिको माग रहेकाले विद्यार्थीका लागि यो राम्रो करियर क्षेत्र बन्न सक्ने बताईन । यस्ता चेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरिन ।




















