बुटवल, २४ भदौ । यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स प्रा.लि र श्रीराम टोबाको प्रा.लिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेको छ ।
सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोगको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले बुधबार संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन ।
साथै कम्पनीले बाढीप्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङलगायत अतिप्रभावित स्थान तथा पीडितलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक राहत सामग्रीका रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाएको जनाएको छ ।
सम्बन्धित निकाय र प्रभावित जनतालाई उक्त चाउचाउ प्रत्यक्ष रूपमा वितरण गरिएको कम्पनीले जनाएको छ । आवश्यक परेमा थप चाउचाउ पठाउन तथा पीडितलाई सहयोग गर्न आफूहरू तत्पर रहेको कम्पनीले जनाएको छ ।



















