बुटवल, २४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मोटर ड्राइभिङ स्कुल संघ लुम्बिनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ६६ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
संघमा आबद्ध सदस्यहरूबाट रकम संकलन गरी विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले बुधबार उक्त रकम कोषमा जम्मा गरिएको संघका अध्यक्ष श्रीधर अर्घालीले बताए । प्राकृतिक विपद्को संवेदनशील घडीमा राज्यको राहत तथा उद्धार प्रयासमा सानो भए पनि सहयोग पु¥याउने उद्देश्यसहित सदस्यहरूबाट रकम जुटाएर सामाजिक उत्तरदायित्व निर्वाह गरिएको उनले बताए ।
बाढीमा परी ज्यान गुमाउनेहरूप्रति संघ परिवारले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्ता तथा स्वयंसेवकप्रति उच्च सम्मान व्यक्त गरेको संघले जनाएको छ ।
संघले विगतबाट नै संस्थागत हकअधिकारसंगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको संघका सल्लाहकार तथा प्रदेश अध्यक्ष प्रमोद थापाले बताए ।
मोटर ड्राइभिङ स्कुल संघ लुम्बिनीका संयोजक तथा उपाध्यक्ष लक्ष्मण जिसीका अनुसार संघमा हाल १ सय ११ जना सदस्य आबद्ध छन् ।



















