काठमाडौं । नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए । राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु कुहनेमानले समान २३ रन बनाए ।
नेपाल ए का लागि शाहब आलम र दीपक डुम्रेले २–२ विकेट लिँदा आकाश चन्द, रिजन ढकाल र पवन सर्राफले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए ४३.३ ओभरमा १९२ रनमा अलआउट भएको थियो ।
तृतराज दासले सर्वाधिक ३७ रन बनाउँदा मयन यादवले ३२, कुशल मल्लले २९ तथा पवन सर्राफले अविजित २२ रन बनाए । नेपालले यसअघि टप एन्ड टी–२० सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ ६ मध्ये २ खेल मात्र जितेको थियो । नेपालले यसपछि शुक्रबार साउथ अस्ट्रेलियासँग तथा आइतबार न्युजिल्यान्ड ए सँग एकदिवसीय खेल खेल्नेछ ।





















