Spread the love

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले वर्षासँगै मेघगर्जन, चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

त्यसैगरी, मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

रातिको समयमा कोशी प्रदेशको तराईका केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपासमा रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले यात्रा गर्दा तथा नदी–खोला आसपासका क्षेत्रमा रहँदा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्