Spread the love

बुटवल । परियार सेवा समाज लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन तथा तीज मिलन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनबाट राजु बराहाको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा मिना नेपाली, महासचिवमा सिमा दर्जी र कोषाध्यक्षमा सुरेन्द्रकुमार रणपाल चयन भएका छन् । सदस्यहरूमा दिलबहादुर परियार, रमेशकुमार परियार र पशुपति सुनाम सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियारले उद्घाटन गर्दै परम्परागत रूपमा आफ्नो पेशा, व्यवसाय, कला र संस्कृतिको संरक्षणमात्र नभई अब समुदायलाई संगठित रूपमा अघि बढाउनु मुख्य आवश्यकता रहेको बताए । उनले केन्द्रीय समितिमार्फत जिल्ला शाखामार्फत भवन निर्माण, हाते मेसिन वितरण, सिलाईको दररेट कार्यान्वयन तथा नौमती बाजाको संरक्षणलगायतका योजना अघि बढाएको जानकारी दिए ।

समाजका केन्द्रीय उपमहासचिव सरोज गौतमले समुदायको हकहित र विकासका लागि परियार समुदाय एकजुट हुनुपर्ने बताए । परियार समुदायमा सीप र कलाको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले राज्यका हरेक तहमा समुदायको प्रभावकारी उपस्थिति आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा कोशी प्रदेश इन्चार्ज ओजकुमार सिवा, पूर्व केन्द्रीय उपाध्यक्ष खड्कबहादुर दर्नाल, लुम्बिनी कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष राजु बराहा, लुम्बिनी प्रदेश इन्चार्ज हरि नेपाली र अर्घाखाँची जिल्ला अध्यक्ष रमेशकुमार परियार, समाजका लुम्बिनी प्रदेश अध्यक्ष निर्मल सुनामले समुदायको उत्थान र विकासका लागि एकता आवश्यक रहेको बताए ।

सो अवसरमा ९८ वर्षीय ज्येष्ठ सदस्य लोकबहादुर रणपाल, स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, अधिवक्ता जानकी बराहा, कलाकार संजय सौगात, सम्झना रणपाल तथा परियार समाज रुपन्देहीका संस्थापक अध्यक्ष कृष्ण घलेलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
अधिवेशनसँगै हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गायक संजय सौगात, सम्झना रणपाल र कुसुम परियारले मौलिक तीज गीत प्रस्तुत गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्