Spread the love

काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४ सै घण्टा सुरक्षित, व्यवस्थित, पारिवारिक र मर्यादित ढंगले सञ्चालन गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४ सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो ।
परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई २४ सै घण्टा सञ्चालन हुने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र ठमेल पर्यटन विकास परिषद्बीच समन्वय गरेर अघि बढ्ने सहमति भएको छ । भेटका क्रममा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकरहरूको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको दीर्घकालीन शान्ति, सुरक्षा र पर्यटनमैत्री वातावरण निर्माण गर्न विभिन्न निकायसँग समन्वय भइरहेको बताए ।

ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले २०८१ सालमा ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका थिए । परिषद्ले ठमेलको विकास, सुरक्षा र व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षबीचको सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्