Spread the love

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गर्दै प्रदेश सांसद पदबाट हटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टी सदस्यताबाट समेत हटाउने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बागमती प्रदेश सरकार गठनका क्रममा नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै थापामाथि कारबाही गरिएको लिङदेनले बताए । पार्टीले यसअघि नै कुनै पनि सरकारमा सहभागी नहुन निर्देशन दिएको भए पनि थापाले पार्टीको निर्णय उल्लंघन गरेको उनको भनाइ छ ।

अध्यक्ष लिङदेनले पार्टीको निर्देशन पटक–पटक उल्लंघन गरेकाले कारबाही गर्नुपरेको बताए । उनले अर्को निर्णय नभएसम्म राप्रपा कुनै पनि सरकारमा सहभागी नहुने पार्टीको स्पष्ट नीति रहेको उल्लेख गरे ।

सरकारमा सहभागी हुने पार्टीको निर्देशनविपरीत गतिविधि गरेमा अन्य सांसदलाई समेत कारबाही गरिने लिङदेनले चेतावनी दिएका छन् ।

यसैबीच राप्रपाका तीन सांसद गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति बागमती प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको बताइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्