बुटवल, २८ साउन । बुटवलको साँग्रिला पथस्थित बुटवल रारा मसला उद्योगबाट निस्कने धुलो, धुवाँ र ध्वनि प्रदूषणका कारण स्वास्थ्यमा समस्या परेको स्थानीयको गुनासोपछि घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाले उद्योगको स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा टोलीले उद्योगका मेसिन सञ्चालन गराएर धुलो, धुवाँ, ध्वनि प्रदूषण तथा भाइब्रेसनको अवस्थाबारे प्रत्यक्ष निरीक्षण गरेको थियो । त्यसपछि स्थानीय बासिन्दा र उद्योगीबीच छलफल समेत गरिएको छ ।
छरछिमेकी तथा टोलबासीले उद्योगका कारण समस्या भएको भन्दै स्थानान्तरण एकमात्र बिकल्प भएको बताए । स्थानीयको मागअनुसार उद्योग स्थानान्तरणका विषयमा आवश्यक प्रक्रिया अघि बढाउने सहमति सहित दुबै पक्ष बिचमा चरणबद्ध ६ बुँदाहरुमा हस्ताक्षर गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत लक्ष्मीप्रसाद दाहालले बताए । बस्ती विस्तारसँगै उद्योगका कारण मानव स्वास्थ्यमा समस्या देखिएको विषयलाई मध्यनजर गर्दै उद्योग स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको बताए ।
उद्योगी कृष्णलाल भुसालले उद्योग स्थापना गर्दा आवश्यक सबै प्रक्रिया पूरा गरेको दाबी गर्दै पछिल्लो समय बस्ती विस्तार भएपछि उद्योगका कारण स्थानीयमा परेको समस्याप्रति आफू जवाफदेही बन्न तयार रहेको बताए । ठूलो लगानी रहेको र यसलाई तुरुन्त स्थान्तरणमा समस्या रहेको भन्दै केही समय लाग्ने उनले बताए । सो अवधिसम्म उद्योगबाट निस्कने मसलाको खार, धुलो तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने, तत्काल खार, ध्वनि र भाइब्रेसन नियन्त्रण गरेर मात्रै उद्योग सञ्चालन गर्ने प्रतिवद्धता जनाए । यसैगरि उद्योगको आईई प्रतिवेदन गरिएको छ वा छैन भन्ने एकिन गरी त्यसको प्रतिलिपि घरेलु तथा साना उद्योग कार्यालयमा उपलब्ध गराउने, उद्योगी र प्रभावित स्थानीयका पाँच–पाँच जना प्रतिनिधिलाई कार्यालयमा बोलाएर तत्काल छलफल गरी टोलबासीको माग सम्बोधन गर्ने तथा उद्योग सञ्चालनसम्बन्धी सम्पूर्ण कागजात कार्यालयमा उपलब्ध गराउने समेत निर्णय भएको छ ।
यसअघि स्थानीय बासिन्दाले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा उद्योगबाट परेको असरबारे लिखित उजुरी दिएका थिए भने साउन २५ गते जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, भैरहवामा पुगेर समस्या समाधानको माग गर्दै ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।




















