बुटवल । विद्यार्थीमा सकारात्मक सोच, आत्मविश्वास र मानसिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बुटवलमा ‘सचेत युवा, अर्थपूर्ण जीवन’ कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले बुधबार बुटवल–रामनगरस्थित कालिका क्याम्पसमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विद्यार्थीलाई मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, सकारात्मक सोच, आत्मचेतना, आत्मविश्वास तथा जीवनलाई सन्तुलित र अर्थपूर्ण बनाउने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका मुख्य प्रशिक्षक लक्ष्मण भण्डारीले मानसिक सचेतना, सोच व्यवस्थापन, आत्मविश्वास तथा सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा विद्यार्थीले आफ्ना जिज्ञासा तथा अनुभवसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, रोटर्याक्टका पूर्व जिल्ला अध्यक्ष विक्रम क्षेत्री, रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष श्रीधर केसीले युवासँग प्रत्यक्ष रूपमा जोडिँदै उनीहरूको व्यक्तिगत विकास, मानसिक सचेतना र सकारात्मक सोच अभिवृद्धि गर्ने यस्ता कार्यक्रमको महत्वबारे प्रकाश पारे ।
शैक्षिक संस्थासँगको सहकार्यमा विद्यार्थी केन्द्रित कार्यक्रममार्फत युवालाई सशक्त बनाउने तथा समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित कार्यक्रम निरन्तर संचालन हुने कार्यक्रम संयोजक दिपेश ज्ञवालीले बताए ।




















