बुटवल, २८ साउन ।
रुपन्देही ट्रेनिङ इन्स्टीच्युट (आरटीआई) बुटवलले आफनो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत १ सय जना युवालाई निशुल्क सीपमुलक तालिम दिने घोषणा गरेको छ । संस्थाको आठौँ वर्ष प्रवेश गरेको अवसरमा रोजगारीसँग जोडिने गरि करीब १५ लाख रुपैया बराबरको सीपमूलक तालिम एक सय जना युवाहरुलाई कप्रदान गर्ने घोषणा गरेको हो ।
विहिबार गरिएको पत्रकार सम्मेलनमा संस्थाका सञ्चालक सागर पाण्डेले सात वर्षको अवधिमा हजारौँ विद्यार्थीले संस्थामाथि गरेको विश्वासलाई सामाजिक जिम्मेवारीमार्फत फर्काउने उद्देश्यसहित आरटीआई सिएसआर इनिसियटिभ २०२६ कार्यक्रम अघि बढाइएको बताए । समाजप्रतिको जिम्मेवारी अझ बढाउने गरि केही अंश समाजमा योगदान गर्न लागेको उनले बताए । आरटीआईमा उपलब्ध रोजगारमूलक तालिममध्ये सहभागीको रुचि, आवश्यकता, योग्यता र क्षमता हेरेर उपयुक्त तालिम छनोट गरिने उनले बताए ।
संस्थाकी सञ्चालक पूर्णिमा भुसाल पाण्डेले अभियानको उद्देश्य केवल निःशुल्क प्रमाणपत्र वितरण गर्नुमात्र नभई युवालाई व्यवहारिक सीप दिएर उनीहरूको भविष्यमा रोजगारसंग जोड्ने भएको बताइन् । रोजगार बजारको मागअनुसार उपयोगी तथा व्यवहारिक सीप विकासमा संस्थाबाट जोड दिदै आएको उनले बताईन ।




















