Spread the love

बुटवल, २२ साउन । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले सरकार नागरिकका समस्या समाधान गर्न संवाद र सहमतिको बाटोमा जानुको सट्टा ‘जंगी समाधान’तर्फ उन्मुख भएको आरोप लगाएका छन । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको ‘तोड्न होइन जोड्नका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ’ भन्ने नारासहितको नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले राज्यको भूमिका सधैँ अभिभावकीय हुनुपर्ने बताए । आफनो घरबस्तीमा अराजकता आउन नदिन सबै पक्ष एकजुट हुनुपर्ने बताउँदै सामाजिक सद्भाव कायम गर्न सामाजिक अगुवा, नागरिक समाज, प्रेस तथा राजनीतिक समाजबीच निरन्तर संवादको श्रृंखला अगाडि बढाउन समेत उनले आग्रह गरे ।

“यस्तो फोरमलाई सदुपयोग गरौँ, सरकारको विरोध वा समर्थनका रूपमा लिनु हुँदैन, किनकि हामी सामाजिक संवेदनशील मोडमा छौँ,” पहाडीले भने । छिमेकी मुलुकहरू समेत उत्तेजित अवस्थामा रहेको दाबी गर्दै उनले नेपालका कारण छिमेकीमा संशय पैदा हुने अवस्था सिर्जना गर्न नहुने बताए । नेपालको परराष्ट्र नीतिमा नेपालको राष्ट्रिय हित र स्वाभिमान प्राथमिकतामा हुनुपर्ने उनको धारणा थियो । एक अर्बपति व्यवसायीको घरमा छापा मारिएको प्रसंगतर्फ संकेत गर्दै पहाडीले हल्लाको भरमा कसैको आत्मसम्मानमाथि प्रहार गर्ने काम राज्यबाट हुन नहुने बताए । सरकार नागरिकका समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा उनको तर्क छ । पहाडीले राजनीतिक समाजको हुर्मत लिएर निर्दलीयताको बीजारोपण गर्ने प्रयास भए त्यसले राजनीतिक समाजलाई मात्र नभई लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने चेतावनी दिए । विश्वका लोकतान्त्रिक मुलुकमा राजनीतिक समाजको विकल्प नदेखिएको भन्दै उनले राजनीतिक दल र राजनीतिक नेतृत्वलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

‘हामी कति सुध्रियौँ ?’ भन्ने प्रश्न अहिले मुख्य विषय भएको उनको भनाइ थियो । कार्यपालिका आवेगमा चल्न नहुने भन्दै राज्य अभिभावक भएकाले विवेकपूर्ण ढंगले अघि बढ्नुपर्ने उनले बताए । व्यवस्थापिकामा अध्यादेशको प्रवेशलाई गलत अभ्यासको संज्ञा दिँदै पहाडीले हतारमा गरिने निर्णयले भोलि संसद्को सर्वोच्चतामाथि प्रश्न उठ्न सक्ने बताए ।
न्यायपालिका कसैको छायामा पर्न नहुने उल्लेख गर्दै उनले न्याय सम्पादन प्रभावित भए त्यसले अशान्ति र द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए । न्यायपालिकालाई राजनीतिक छायाबाट मुक्त गर्दै यसको पुनःसंरचना आवश्यक रहेको पहाडीको भनाइ थियो ।

यसैगरी, ‘जेन्जी’ आन्दोलनका क्रममा भएको ध्वंस र आन्दोलनको पछाडिका कारण तथा राज्यका कमजोरीबारे गम्भीर अनुसन्धान हुनुपर्ने पहाडीले बताए । आन्दोलन किन त्यस्तो अवस्थामा पुग्यो र त्यसका पछाडि के कारण थिए भन्ने विषयमा निष्पक्ष ढंगले समीक्षा गर्नुपर्ने उनले बताए । राज्य संरक्षित गुण्डागर्दीको अवस्था सिर्जना हुन नदिन राज्यका निकाय जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए ।

कार्यक्रममा समाजका पूर्व केन्द्रिय अध्यक्ष गोबिन्द खनाल, नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा कृष्ण खरेल, विभिन्न राजनीतिक दलका नेताहरुले राजनीतिक दल, नागरिक समाजहरुको सम्बादबाट नै समाधान निस्कने दाबी गर्दै बुटवलबाट उदाहरण पेश हुने गरि अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा जिल्ला अध्यक्ष अर्जुन ज्ञवालीले वर्तमान समयमा देशमा देखिएका समुदाय, धर्मका कारण हुनसक्ने द्धन्द्धप्रति संवेदशिल भएर समाजबाट यो सम्बादको अभियान शुरु गरिएको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्