बुटवल, ७ मंसिर ।
बुटवलमा सम्पन्न जिल्लास्तरीय चित्रकला प्रतियोगितामा श्री शान्ति नमुना माध्यमिक विद्यालयका नवीन रावल प्रथम भएका छन् । विद्यार्थीमा रहेको सिर्जनात्मक क्षमता र कलात्मक प्रतिभाको पहिचान गर्ने उद्देश्यले रोटरी क्लब अफ बुटवल साउथ र कालिका मानवज्ञान माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सोमबार भएको प्रतियोगितामा ३७ प्रतिस्प्रर्धीलाई पछि पार्दै उत्कृष्ट कला र रंगरोगनका साथ चित्र कोरेर उनि प्रथम भए ।
प्रतियोगितामा सिद्धार्थ इगलिस बोर्डिङ माध्यमिक विद्यालयकी सफलता पौडेल द्वितीय र श्री शान्ति नमुना माध्यमिक विद्यालयका प्रमिश कार्की तृतीय भएका छन् । त्यस्तै, दीप बोर्डिङ हाई स्कुलकी प्रेष्ठी पुन र कालिका मानवज्ञान माध्यमिक विद्यालयका सुमित अर्यालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णायकका रूपमा कला संघका केन्द्रीय उपाध्यक्ष एचबी रम्तेल र ललितकला राष्ट्रिय पुरस्कार विजेता खेम घिमिरे रहेका थिए । रोटरी डिस्ट्रिक्टका इलेक्ट डीजी आईपी ढकाल, पूर्व डिस्ट्रिक्ट गभर्नर विनोद कोइराला, पीडीजी सञ्जय गिरी, डिस्ट्रिक्ट सचिव तथा पूर्वअध्यक्ष लक्ष्मण ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक, क्लबका चार्टर अध्यक्ष प्राध्यापक डा. आरसी आचार्य, पूर्वअध्यक्ष श्यामबहादुर पुन, रूपन्देही अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, रोट्रयाक्ट क्लब अफ बुटवल साउथकी अध्यक्ष रोशनी भण्डारीले उद्घाटनका साथै विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा विभिन्न १६ विद्यालयका ३८ जना विद्यार्थी सहभागी रहेको कार्यक्रम संयोजक सुदीप पौडेलले बताए । तीन घण्टाको समय निर्धारण गरिएको प्रतियोगितामा विद्यार्थीले आफ्नो कला, कल्पना र सिर्जनात्मक क्षमता चित्रमार्फत प्रस्तुत गरेका थिए ।





















