Spread the love

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका १३ प्रमुख राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथ, इलामको मेची राजमार्ग, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, गोरखाको लार्के–बेनीघाट सडक, मनाङको चामे–बेँसीसहर सडक, स्याङ्जाको बेनी–जोमसोम सडक, लमजुङको बेँसीसहर–मनाङ सडक, रुकुम पश्चिमको भेरी करिडोर सडक, दोलखा–लामाबगर–रामेछाप सडक तथा रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

यस्तै, बागलुङको कालीगण्डकी करिडोर र भोजपुरको मध्यपहाडी लोकमार्ग भने वैकल्पिक व्यवस्था मिलाइएपछि एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

उता, काभ्रे र मकवानपुर क्षेत्रमा सम्भावित बाढीको जोखिमका कारण रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिम कम भएपछि बिहान निश्चित समयदेखि मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।त्यसैगरी सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द रहेको छ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो र बाढीको जोखिम अझै कायम रहेकाले अत्यावश्यक कामबाहेक प्रभावित राजमार्गमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्