दाङ,१४ साउन ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने भएका छन् । नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता सहकार्यको सहमति भए पनि नेतृत्व परिवर्तन नगरी आचार्यकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने सहमति भएको हो ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो ।
यससँगै एमाले र नेकपाबीच मन्त्रालयको वाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ । मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने जनाइएको छ ।हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए ।





















