Spread the love

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अघि विदेशी खेलाडी तथा प्रशिक्षक भित्र्याउने क्रम तीव्र बनेको छ । यसैक्रममा पाकिस्तानी पूर्वतीव्र गतिका बलर सोहेल तनवीर चितवन राइनोजको मुख्य प्रशिक्षक नियुक्त भएका छन् भने पोखरा एभेन्जर्सले बंगलादेशका अनुभवी अलराउन्डर शाकिब अल हसनलाई टोलीमा अनुबन्ध गरेको छ ।

४१ वर्षीय तनवीरले यसअघि एनपीएलका दुवै संस्करणमा चितवन राइनोजबाट खेल्दै प्रभावशाली प्रदर्शन गरेका थिए । पहिलो संस्करणमा उनले ८ खेलमा १४ विकेट लिँदै टोलीलाई इलिमिनेटरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । दोस्रो संस्करणमा भने चितवन लिग चरणबाटै बाहिरिँदा तनवीरले ५ इनिङ्समा ८ विकेट मात्र लिन सकेका थिए । अब प्रशिक्षकको नयाँ भूमिकामा देखिन लागेका तनवीरको अनुभवले चितवनलाई उपाधि दाबेदार टोलीका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यता पोखरा एभेन्जर्सले विश्व क्रिकेटका सफल अलराउन्डरमध्ये एक शाकिब अल हसनलाई अनुबन्ध गर्दै आफ्नो टोली थप बलियो बनाएको छ । ४० वर्षीय शाकिब विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका अनुभवी क्रिकेटर हुन् । बंगलादेशका पूर्वकप्तानसमेत रहेका उनले १२९ अन्तर्राष्ट्रिय टी–२० खेलमा २ हजार ५ सय ५१ रन बनाउनुका साथै १४९ विकेट लिएका छन् । यस्तै, सबैखाले टी–२० क्रिकेटमा उनले ४७८ खेल खेल्दै ७ हजार ८ सय ५३ रन बनाएका छन् भने ५१५ विकेट आफ्नो नाममा दर्ता गरेका छन्। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने शाकिबको आगमनले पोखरा एभेन्जर्सको टोलीलाई थप सन्तुलित र प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।

विदेशी क्रिकेटका चर्चित नामहरू नेपाल भित्रिन थालेसंगै प्रतियोगिताको स्तर, प्रतिस्पर्धा र दर्शकको आकर्षण अझ बढ्ने अपेक्षा गरिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्