बुटवल, १३ साउन ।
गुरु पूर्णिमाको अवसरमा आरके तेक्वाण्डो एकेडेमीले बुटवलमा विशेष सम्मान तथा ब्ल्याक बेल्ट प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु प्रसाद ढकाल तथा एकेडेमीका अध्यक्ष राजकुमार पाण्डेयले प्रशिक्षार्थीहरूलाई ब्ल्याक बेल्ट प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । यसैगरि गुरु पूर्णिमाको सन्दर्भमा प्रशिक्षकहरूलाई सम्मानसमेत गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद ढकालले गुरु–शिष्य परम्पराको महत्वमाथि प्रकाश पार्दै खेलकुदले अनुशासन, आत्मविश्वास र सकारात्मक जीवनशैली विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । तेक्वाण्डोमार्फत युवापुस्तामा शारीरिक तन्दुरुस्तीका साथै नैतिक शिक्षा र आत्मरक्षाको भावना विकास भइरहेको उनको दाबी छ ।
एकेडेमीका अध्यक्ष राजकुमार पाण्डेयले गुरु पूर्णिमाको अवसरमा प्रशिक्षकप्रति सम्मान प्रकट गर्दै निरन्तर अभ्यास र मेहनतका कारण ब्ल्याक बेल्ट प्राप्त गर्ने खेलाडीहरूलाई बधाई दिएका थिए । उनले आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दक्ष खेलाडी उत्पादनमा एकेडेमी प्रतिबद्ध रहने बताए । कार्यक्रममा प्रशिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
भिडियो रिर्पोट





















