झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । मृतक सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् ।
गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन् । दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाल का अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो । सोमबार विद्यालय सञ्चालन हुँदा दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइएपछि उनीहरू बस्ने कोठामा पुग्दा बाहिरबाट ताला लागेको र फोन सम्पर्कसमेत हुन नसकेको थियो ।
लुइँटेलका अनुसार दिनभर सम्पर्क हुन नसकेपछि सोमबार बेलुका करिब ४ः३० बजे रतन गुप्ताले आफ्नो ह्वाट्सएपमार्फत सन्देश पठाएका थिए । उक्त सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको तथा डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो ।
स्थानीयवासीका अनुसार रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कविहीन रहेका छन् । प्रहरी टोली घटनास्थल पुगेर शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि पठाएको छ । मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र शव परीक्षणको प्रतिवेदनसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




















