Spread the love

बुटवल, ३१ असार ।
बुटवलबाट नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोट, नोट छाप्न प्रयोग हुने उपकरण तथा अन्य सामग्री बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरि घटनामा संलग्नलाई सार्वजनिक गरिएको छ । बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडस्थित एक पसलमा नक्कली नोट छाप्ने गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा उनीहरू पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ की ३६ वर्षीया गंगा कुमारी पूर्वछाने, कास्की पोखरा महानगरपालिका–१ का किरण कृष्ण तिवारी (कृष्ण), कपिलवस्तुको बाणगंगा नगरपालिका–१ का सञ्जय थारु, भक्तपुर चाँगुनारायण नगरपालिका–१ का ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाको शैलुङ गाउँपालिका–४ का ३८ वर्षीय पासाङ तामाङ तथा भारतको पश्चिम बंगाल राज्य, सिलिगुडी भक्तिनगर थाना घर भएका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

पसल तथा उनीहरू बस्दै आएको कोठाको खानतलासी गर्दा एक हजार दरका ६२२ थान नक्कली नेपाली नोट (कुल ६ लाख २२ हजार रुपैयाँ बराबर), फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने विशेष कागजको एक कार्टुन, लेमिनेसन मेसिन, विभिन्न केमिकल, प्लास्टिक पेपर, नोट काट्ने मेसिन तथा ६ थान मोबाइल फोन बरामद गरेको प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । पक्राउ परेका सबैमाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्